काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो ।

मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।

नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन ।

यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर गएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु