काठमाडौ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति गर्दा दुईजना अध्यक्ष राख्ने सहमतिसमेत भएको खुलासा गर्नुभएको छ ।

तर, सहमतिको लिखित मस्यौदामा भने त्यसबारे केही उल्लेख गरिएको थिएन उहाँले भन्नुभएको छ । उहाँले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने कुरामा नेताहरु सबै सहमत भएको स्मरण गराउनुभएको छ ।

१० बुँदेको कार्यान्वयन गर्न बनेको कार्यदल संयोजकबाट आइतबार लिखित राजीनामा दिँदै रावलले माधवकुमार नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने सहमति भएको खुलासा गर्नुभएको हो ।

‘दस बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलको दावी छ, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

रावलले पत्रमा हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयन नभएको उल्लेख गर्नुभएको छ । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानी–१२ को कार्यान्वयन भएको छैन्,’

उहाँको भनाइ छ, ‘एक नम्बर प्रदेशका ताप्जेजुङ, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरूमा अपानी–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन् ।’

१० बुँदे सहमति कार्यान्वयनमा पार्टी अध्यक्षबाट नै अनिच्छा व्यक्त भएपछि कार्यदलमा रहिरहनुको औचित्य नदेखिने भएकाले कार्यदलबाट राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबरहरु