झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेदेखि नै पार्टी भित्र झड्का लाग्न शुरु भएको छ ।

उहाँको गृहजिल्ला झापाको अर्जुनधारा नगरपालिकाको नेकपा एमाले नगर अधिवेशनमा नै पार्टी अध्यक्ष केपी शर्मा ओली निकट उम्मेदवार पराजित भएसँगै उहाँलाई धक्का लाग्न थालेको हो ।

ओली निकट जिल्ला नेता देवेन्द्र दाहाल, प्रेम गिरी, चिन्तन पाठकलगायतले समर्थन गरेका उम्मेदवार लोकनाथ गौतम पराजित हुनुभयो ।

विपक्षी उम्मेदवार बलदेव गोम्देन ११७ मत ल्याउँदै नगर अध्यक्षमा विजयी हुनुभयो । पहिले माधव नेपाल पक्षमा रहनुभएका गोम्देनले पार्टी विभाजनपछि एमाले नै रोज्नुभएको थियो । ओली समर्थित उम्मेवदार गौतमले १०२ मत ल्याउनुभयो ।

गोम्देन हाल वडा नंं १० बाट वडाध्यक्ष समेत विजयी जनप्रतिनिधि हो । यस्तै गौतमपनि ६ नम्बरका वडाध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा खगेन्द्र इङ्नामलाई पराजित गर्दै लोकमान श्रेष्ठ विजयी हुनुभयो । इङ्नामले ७८ मत ल्याउँदा श्रेष्ठले १४१ मत ल्याउनुभयो ।

उपसचिवमा सरिता भण्डारी विजयी हुनुभयो । कमलादेवी भण्डारीलाई ३० मतअन्तरले पराजित गर्दै सरिता भण्डारी विजयी हुनुभएको हो ।

कमलादेवीले ९५ मत ल्याउँदा सरिताले १२५ मत ल्याउनुभयो । सचिवमा यसअघि लवकुश गौतम सर्वसम्मत भइसक्नुभएको थियो ।

झापाका १५ स्थानीय तहमध्ये ५ वटामा एमालेको अधिवेशन भइसकेको छ । तीमध्ये अर्जुनधारा र भद्रपुरमा निर्वाचन भयो भने गौरीगञ्ज, दमक र कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

 

सम्बन्धित खबरहरु