काठमाडौं । दुबईमा जारी टी २० विश्वकप प्रतियोगितामा विश्वविजेता भारतलाई अहिलेसम्मकै ठूलो झड्का लागेको छ ।

इतिहासमा नै भारत सेमिफाइनल नपुग्दै विश्वकप प्रतियोगिताबाट बाहिरिने भएको छ । एक खेल पाकिस्तानसँग हारिसकेको भारतले आज न्यूजिल्याण्डसँग पराजय ब्यहोर्यो ।

निर्धारित २० ओभरको खेलमा भारतले ७ वीकेट गुमाउदै मात्र ११० रन जोड्यो । १११ को लक्ष्य पाएको न्यूजिल्याण्डले सहजै लक्ष्य पार गरेर ८ वीकेटले जित हासिल गर्यो । न्यूजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ वीकेट गुमाउदै १११ को लक्ष्य पार गर्यो । यो जितसँगै न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने भएको छ । टस जितेर ब्याटिङ्ग रोजेको न्यूजिल्याण्डको खेल उत्कृष्ट थियो ।

यसअघि पाकिस्तानसँग हारेको भारतका लागि आजको खेल निर्णायक थियो । न्यूजिल्याण्डसँग पराजित भएसँगै विश्वकपको माथिल्लो चरणमा भारत अब उक्लिने छैन ।

दुबईमा राती सात बजेर ४५ मिनेटमा शुरु भएको खेल न्यूजिल्याण्डका लागि पनि अगाडि उक्लिन महत्वपूर्ण थियो । न्यूजिल्याण्ड पनि पाकिस्तानसँग नै पराजित भएको थियो ।

भारत यसअघि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
सुपर १२ को समूह–२ मा पाकिस्तान, न्युजिल्यान्ड, भारत, नामिबिया, स्कटल्यान्ड र अफगानिस्तान छन्। पाकिस्तानले भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराउँदै लगातार तीन जित निकालेको छ। ६ अंक जोडेर शीर्ष स्थानमा रहेको पाकिस्तान सेमिफाइनल नजिक छ।

यो अवस्थामा पाकिस्तानबाहेक बाँकी पाँच मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ। बलियो मानिएका भारत र न्युजिल्यान्डलाई सेमिफाइनल पुग्न एकअर्काबीचको भिडन्तमा जित निकाल्न जरुरी थियो । अब न्युजिल्यान्ड भारतभन्दा बलियो बनेको छ । यसैले पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा जाने सम्भावना बलियो बनेको हो ।

भारत र न्युजिल्यान्डले अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्न बाँकी भए पनि सबैको नजर आज भारत र न्युजिल्यान्डबीचकै खेलमा रहेको थियो । किनभने आजको खेलमा जित हात पार्ने टिम अन्तिम चारमा पुग्ने सम्भावना बढि छ।

भारत र न्युजिल्यान्डबीचको इतिहास हेर्ने हो भने भारतको रेकर्ड राम्रो छैन। विश्वकपमा भारतले न्युजिल्यान्डविरुद्ध सन् २००३ देखि जित निकाल्न सकेको छैन। २००७ देखि २०१६ सम्मको टी–२० विश्वकपमा न्युजिल्यान्डले भारतविरूद्ध खेलेका सबै खेलमा जित हात पारेको छ।

सन् २०१९ को ओडिआई विश्वकपको सेमिफाइनलमा र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई न्युजिल्यान्डले हराएको थियो।

 

सम्बन्धित खबरहरु