लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताउनुभएको छ ।

शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुग्नुभएका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गर्नुभयो । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उहाँले भन्नुभयो ।

उहाँले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताउनुभयो । गत वर्ष कोभिड–१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।

एनआरएनको माग– बेलायतमा राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने वातावरण बनोस्

त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाउनुभएको थियो । ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गर्नुभएको थियो । ‘यसबाट नेपालमा रहेको हाम्रो सम्पत्ती सुरक्षित हुने र नेपालबाट ठूलो मात्रामा भै रहेको पूँजी पलायन पनि रोकिने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितलगायत एनआरएनए यूकेका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभयो ।

आइतबार बिहान प्रधानमन्त्री देउवाको सम्मानमा एक स्वागत समारोह राखिएको थियो र अपरान्ह प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको ‘वर्ल्ड लिडर्स समिट’ मा भाग लिन स्कटल्याण्ड प्रस्थान गर्नुभयो ।

सम्बन्धित खबरहरु