दोहा । कुवेतमा तीन सय जना नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।

एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले निःशुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिनुभयो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न स्वास्थ्य शिविरमा कानुनी तथा गैर कानुनी रूपमा कुवेतमा कार्यरत नेपाली कामदारलाई सिभिल आइडी र राहदानीको आधारमा निःशुल्क स्वास्थ्य सेवा दिइएको अध्यक्ष लामाले बताउनुभयो ।

उक्त स्वास्थ्य शिविरमा एक्सरे, अल्ट्रासाउन्ड र केहीले डाक्टरको सल्लाह बमोजिम पीसीआर परीक्षणको समेत सुविधा लिएका छन् भने अधिकांश नेपालीहरूमा मधुमेह, कोलोस्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो ।

नेपालीहरूलाई आवश्यकता अनुसारका परीक्षण गरी रिपोर्ट दिने साथमा औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको थियो । यो लाभ भने तपाईले जहिलेपनि लिन सक्नुहुनेछ ।

यसैगरी गैर आवासीय नेपाली संघ बहराइनले पनि त्यहाँस्थित अल हिलाल अस्पतालसँगको सहकार्यमा नेपाली कामदारहरूका लागि निःशुल्क स्वास्थ्य शिविरमा सञ्चालन सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरबाट सेवा लिन नसकेकाहरुका लागि बिहीबार अर्थात् नोभेम्बर ४ तारिखसम्म अल हिलाल अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको जनाइएको छ । संघका अनुसार अल हिलाल अस्पतालको कुनै पनि शाखामा गई सो समयसम्म यो सुविधा लिन सकिनेछ ।

सम्बन्धित खबरहरु