स्कटल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डमा हुनुहुन्छ ।

आज र भोलि ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति उहाँ लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुग्नुभएको हो ।

त्यहाँको समयानुसार सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

भ्रमणका दौरान उहाँले भोलि मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग र दिउँसो श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उहाँ मोदीसँग भेट्न भने अति नै आत्तुर रहेको श्रोतको दावी छ ।

उहाँले नेपाल र भारतबीच देखिएका विद्यमान समस्याको समाधान, सीमा विवाद निरुपण लगायतका विषयमा छलफल गर्ने समय माग्नुभएको श्रोतको दावी छ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गरेका थिए ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु