काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर समितिले चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै छन् ।

हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।” उहाँले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।” अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै सपना देख्यौं ।

जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।” संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।” यस्तो सपना देख्नु नराम्रो नभएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु