काठमाडौ । कर्णाली प्रदेशको सरकार नेकपा माओवादी केन्द्रले गुमाएको छ ।

केन्द्रीय सत्ता समिकरण माओवादीका लागि भने घाटा सावित भएको छ । सुदुरपश्चिममा समेत नेकपा एकीकृत समाजवादीले दावी गरिरहेको छ । यस्तो अवस्थामा माओवादीले प्रदेशका सबै सरकार गुमाउने छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोआजराजीनामा दिने पक्का भएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भन्नुभयो, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ ।

‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ । क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ, ढुक्क हुनुहोस,’ नेता शाहीले स्पष्ट पार्नुभयो ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताउनुभयो ।

‘कांग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नुभएको छ, अहिले छलफल भइरहेको छ तर राजीनामा दिने यकिन भइसकेको छैन,’ । अब केन्द्रसँग छलफल गरेर राजीनामाको प्रक्रिया अघि जानपनि सक्छ उहाँले भन्नुभयो ।

 

सम्बन्धित खबरहरु