विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेको बुझिएको छ ।

सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका छन् ।

त्यहाँ राजेन्द्र राई मुख्यमन्त्रीका लागि दावी पेश गर्ने तयारीमा हुनुहुन्छ । गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।

मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्नुभएको हो । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उहाँले राजीनामा दिनुभएको हो ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

१० भदौमा मुख्यमन्त्री बन्नुभएका आचार्य २५ गते नै अल्पमतमा पर्नुभएको थियो । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेपछि आचार्यले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो सरकार स्थिर रहोस् भन्ने जनताको अपेक्षा थियो । कामको चापले पनि यो सरकारको माग गरिरहेको थियो ।’

सम्बन्धित खबरहरु