सुर्खेत । नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन धोकाधडी भएको टिप्पणी गर्नुभएको छ । त्यसको पुष्टि कर्णालीमा भइसकेको उहाँको जिकिर छ ।

प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘गठबन्धनबीच नै एकअर्कालाई घात गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, कर्णालीमै छु, जीवन शाहीका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गर्छ, गठबन्धनमा धोकाधडी छ, प्रतिवद्धताहरु पूरा गर्ने वातावरण छैन ।’

नेता बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलले सत्तामा आफू मात्र टिकिराख्न एकअर्कालाई विश्वासघात गर्दै आएको आरोप लगाउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादीको सहमति कता हरायो भन्दै यो सत्ताका लागि गरिएको छल र स्वार्थ मात्र भएको दाबी गर्नुभयो ।

‘उहाँहरूको नियत छताछुल्ल हुँदैछ, देख्नुभयो नि गठबन्धन केका लागि बनेको रहेछ ?’ उहाँले अगाडि भन्नुभयो, ‘गठबन्धन जति लम्बियो एमालेलाई उत्तिनै फाइदा छ, सत्ता साझेदारका जालझेल र स्वार्थ धमाधम सार्वजनिक हुँदैछन् ।’

नेता बस्नेतले यतिबेला न्यायालयमा देखिएको समग्र विकृति र बेथितिको समाधान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले एमाले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव लैजाने पक्षमा भने नरहेको प्रष्ट पार्नुभयो ।

बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर आउनुभएको थियो ।

सम्बन्धित खबरहरु