काठमाडौ । न्यायालयमा विवाद देखिएको लामो समयसम्म मौन बस्नुभएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बल्ल मुख खोल्नुभएको छ ।

उहाँले अदालतको विषयमा राजनीतिक क्षेत्रले हात हाल्न नहुने स्पष्ट पार्नुभएको छ ।

प्रधानन्याधीस चोलेन्द्र शमशेर जबराका विरुद्धमा कानुन क्षेत्र आन्दोलित हुदा दलहरु मौन रहेको आक्षेप आइरहेका बेला नेम्वाङको यस्तो भनाइ आएको हो ।

‘अहिले सर्वोच्चमा जे भइरहेको छ, त्यो सारै दुःखद र आश्चर्यजनक हो,’ नेता नेम्वाङले भन्नुभयो, ‘अदालतको कुरामा राजनीतिक क्षेत्रले सारै बढि हात हाल्नु हुँदैन ।’ उहाँले अरु संस्थाहरु बिग्रिए पनि लोकतन्त्रका लागि अदालतको भूमिका निष्पक्ष भएकाले अदालतमाथि विश्वास गर्नुपर्ने बताउनुभयो ।

‘त्यसैले अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनुपर्छ,’ नेम्वाङले भन्नुभयो, ‘अदालतमा खेलोफड्को गर्नु हुँदैन तर भइरहेको छ।’ यसअघि एमाले पनि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै सडकबाट न्यायाधीश हटाउन नहुने बताएको थियो।

सर्वोच्चको विषयमा राजनीतिक क्षेत्रबाट आवाज आउनुपर्ने माग उठिरहेका बेला एमाले जबराको पक्षमा देखिएको छ भने अरु दल मौन छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने परमादेश दिने ५ जना न्यायाधीशले नै राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु