विराटनगर । राजेन्द्र राईलाई प्रदेश १ मा मुख्यमन्त्री बन्ने पक्का भएको छ । उहाँलाई भोलि प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

प्रदेश १ मा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान भएअनुसार गठबन्धनले नयाँ सरकार गठनका लागि उहाँको नाममा दाबी गरेसँगै नियुक्ति हुन लागेको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्नुभएको छ ।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको हो । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेको कारण उहाँको हस्ताक्षर नभएको बताइएको छ ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले भोलि १ बजेसम्म नयाँ सरकारको दावी पेस गर्न आह्वान गर्नुभएको थियो । भोलि १ बजेको समय सीमा सकिएपछि प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउँनेछ ।

को हुन् राजेन्द्र राई

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर हुनुभएका राजेन्द्र राई भोजपुर क्षेत्र नम्बर क बाट एमालेको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँ १९ हजार दुई सय ९७ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको मत निकतटम प्रतिद्वन्द्वी संघीय समाजवादीका अजम्बर काङ्माङ राईभन्दा सात हजार सात सय ५६ मत बढी थियो । एमाले विभाजन भएसँगै उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नुभयो ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गर्नुभएका राजेन्द्र अनेरास्ववियूको दुई कार्यकाल अध्यक्ष हुनुभयो ।

उहाँ ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको दुई कार्याकाल अध्यक्ष हुनुभयो । विद्यार्थी राजनीतिको उपल्लो तहमा पुगेपछि राजेन्द्र भोजपुरभन्दा बढि काठमाडौंमा बस्नुभयो ।

उहाँ पहिलोपटक एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । उहाँले वैकल्पिक केन्द्रीय सदस्यको शपथ नलिने भन्दै शपथ कार्यक्रममा जानुभएन । एमालेको बुटवलको नवौ महाधिवेशनमा राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

एमाले नेता माधब नेपाल नजिक रहनुभएका राजेन्द्रलाई भीम आचार्य र शेरधन राईका बीचमा मुख्यमन्त्रीको रूपमा प्रतिस्पर्धा हुँदा विकल्पको रूपमा हेरिएको थियो ।

उहाँले प्रदेश सभाको निर्वाचन जितेसँगै आफू मुख्यमन्त्रीका लागि योग्य रहेको बताउदै आउनुभएको थियो । तर उहाँलाई त्यो बेला मुख्यमन्त्री बन्न भीम आचार्यले छेक्नुभयो ।

माधव झलनाथ गुटका नेताका रूपमा भीम आचार्य संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा राजेन्द्रले भीम आचार्यको काँध थाप्नुभयो । भीम आचार्य शेरधन राईसँग दुई मतले संसदीय दलको नेतामा पराजित भएपछि एमालेको तर्फबाट शेरधन मुख्यमन्त्री बन्नुभयो ।

एउटै जिल्लाका शेरधनसँग राजेन्द्रको भने हार्दिक सम्बन्ध भएन । जहिलै प्रतिस्पर्धीको रूपमा राजेन्द्रले बीचमा पनि शेरधन राई नेतृत्वको सरकार ढलाउन प्रयास गर्नुभएको हो ।

तर त्यो बेला पनि उहाँले भीम आचार्यलाई मुख्यमन्त्री बनाउने जोड बल थियो । तर एमालेमा भएको १० बुँदे सहमतिसँगै भीम आचार्य एमालेमा बस्नुभयो भने राजेन्द्र राईले एकीकृत समाजवादी रोज्नुभयो । त्यसपछिको अंकगणितले आचार्यलाई बाईबाई गरायो भने राईलाई स्वागत गर्यो ।

सम्बन्धित खबरहरु