काठमाडौं । मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रदेश– १ संसदीय दलका नेता राजेन्द्र राईले नियुक्ति नखाँदै खुशीयाली मनाउनुभएको छ ।

उहाँले केक काटेर अनि मदिराको चुस्की लिएर खुशियाली साट्नुभएका दृष्य देखिएका छन् ।

उहाँले सोमबार आफू मुख्यमन्त्री बन्ने निश्चित भएपछि इटहरीस्थित इन टुरिष्टमा भव्य पार्टीको आयोजना नै गर्नुभयो ।

उहाँले खुशियाली मनाउँदै काटेको केक उहाँ आफैँले भने किन्नुभएको हैन । उहाँका शुभेच्छुक तथा सुभचिन्तकहरुले उहाँको लागि कार्यक्रमको आयोजना गरिदिनुभएको हो ।

बधाई कार्यक्रमको दृश्य

नेता राईको बधाईका लागि आयोजना गरिएको कार्यक्रममा करिब २ दर्जन मानिस भेला हुनुभएको थियो ।

उहाँ स्वयम उपस्थित भएर केक काटिएको छ । उहाँले काटेको केकमा प्रदेश १ को मुख्यमन्त्री बन्न लागेकोमा बधाइ लेखिएको छ । कार्यक्रममा सुभचिन्तकहरुले गडगडाहटका साथ निरन्तर ताली बजाएको देखिएको छ ।

उपस्थित कसैले बल्ल आनन्द आयो भन्दै हुन्छन् । कसैले यहाँको भिडियो फोटा कसैले बाहिर नल्याउनु भन्दैछन् । उक्त भिडियो खिच्नेले पनि ल भन्छन् । त्यसैमा अर्का उपस्थित पुरुषले यहाँको सबै उठाइहालौँन भन्छन् ।

र, होटलका कामदार आएर प्लेट तथा गिलासहरु गठाउँछन् । त्यसअघि त्यहाँ धेरै पानीका बोतलहरु राखिएको हु्न्छ ।

त्यो सँगै एक वोतल ‘स्याम्पेन’ पनि देखिन्छ । र, मदिरा गिलासमा सारेर थोरै थोरै चुस्की लिन्छन्, आज मुख्यमन्त्री बन्न लागेका राजेन्द्र राई र उहाँकी पत्नी शोभा पाठकले ।

राईका शुभचिन्तकहरुले गोप्य रुपमा मनाएको खुशियाली कार्यक्रको भिडियो कसैले बाहिर सार्वजनिक गरिदिएको छ । निवर्तमान मुख्यमन्त्री भीम आचार्यले सोमबार मात्रै पदबाट राजीनामा दिनुभएको छ।

उहाँले ६८ दिनको आफ्नो कार्यकाललाई हिजो टुङ्गाउनुभएको थियो । पार्टी विभाजन भएपछि विश्वासको मत पाउने अवस्था नरहेका कारण उहाँले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई राजीनामा पत्र बुझाउनुभयो ।

प्रदेश प्रमुख अधिकारीले मंगलबार आजसम्म मुख्यमन्त्रीको दावी गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।

गठबन्धन दलहरुले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा अघि सारेका छन् । आज १ बजेपछि प्रदेश प्रमुखले राईलाई मुख्यमन्त्री नियुक्त गर्नुहुनेछ ।

सम्बन्धित खबरहरु