काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावदेखि अहिले नै डराउन थालेको प्रष्ट देखिन थालेको छ ।

उहाँ आजपनि देशीविदेशी प्रतिक्रान्तिकारी र प्रतिगामीहरू आफूलाई हराउने मिसनमा लागेको भन्दै रोइलो गर्नुभएको छ ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले जनतामा माओवादीप्रति उभार देखिन थालेपछि उनीहरू आत्तिएर माओवादी सिध्याउन लागि परेको र पहिले आफूलाई नै सिध्याउन केन्द्रीकृत भएको बताउनुभयो ।

आफूले मूल मुद्दालाई फेरि उठाएकाले पार्टिभित्र आशा, उत्साह र भरोसा पलाएको उहाँले दाबी गर्नुभयो । तर यसबाट प्रतिगामीहरु अत्तालिएको उहाँको भनाई थियो ।

ओलीलाई संकेत गर्दै दाहालले भन्नुभयो– तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उहाँको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ ।

प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ, सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् ।’

उहाँले पहिचान र समानुपातिक चुनावी प्रणालीको मुद्दा नछाडेको र त्यसलाई घनिभूतरुपमा उठाउने बताउनुभयो ।

संविधानसभा पहिचानको विषयलाई नोट अफ डिसेन्ट राखेको उहाँले स्मरण गराउनुभयो ।

पूर्वसचिव रामेश्वर खनालले माओवादी सिद्धिनुपर्छ भनेर दिएको अभिव्यक्तिमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

सम्बन्धित खबरहरु