काठमडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नासाथ चिनेको प्रधानमन्त्री शेरबहादुर देउवाले दावी गर्नुभयो । उहाँले आफूले नेपाली टोपी लगाएका कारण परैबाट चिनेर कुराकानी भएको उहाँको भनाई थियो ।

कुराकानीमा बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएको देउवाको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्किने क्रममा प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले ।

नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश, सबभन्दा खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताउनुभयो । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ देउवाले पत्रकारलाई जानकारी दिनुभयो ।

देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नआत्तिन आग्रह गरेको बताउनुभयो ।

एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुलाई आफूले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र सहमतीमा छिट्टै पारित गर्ने आश्वासन दिएको बताउनुभयो । बाइडेनले समेत एमसीसी पास गर्न सुझाएको देउवाको बुझाई थियो ।

‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु’, देउवाले बताउनुभयो ।

सम्बन्धित खबरहरु