काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास सम्बन्धमा नयाँ खुलासा गर्नुभएको छ ।

सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट पास गराउने भनेर पत्र पठाइसकेको खुलासा गर्नुभएको हो ।

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्किने क्रममा विमानस्थलबाटै देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पार्नुभयो । उहाँहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै देउवाले अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गर्नुभयो ।

देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पार्नुभयो । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसदबाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिनुभयो ।

नेपालमा संसदबाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नु नपर्ने बताउँदै आइरहनुभएको छ । स्मरण होस् उक्त सम्झौतापनि शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा नै एमसीसीसँग हस्ताक्षर भएको थियो ।

अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ ।

संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।

संसद् अधिवेशन अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो ।

एमसीसी सम्झौता अनुमोदन नगरिँदा लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्‍याउन ढिलाइ भएको एमसीसीले जनाएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु