बीबीसी । घरघरमा झिलमिली बत्ती बालिने लक्ष्मीपूजाको दिन पनि नेपालमा खपत हुनेभन्दा धेरै विद्युत् उत्पादन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीबीसीलाई बताउनुभएको छ ।

लक्ष्मीपूजाको दिन साँझपख धेरैतिर बिजुलीबत्ती बालिने भए पनि देशभित्रको आवश्यकता पूर्ति हुने अनि अतिरिक्त परिमाणमा उत्पादन हुने विद्युत् भारतलाई बेचिने उहाँको भनाइ छ।

परिवेश फेरिएको छ। केही अघिका वर्षामा विद्युत् नै पुग्दैनथ्यो र केन्द्रहरूमा बसेर धेरै कुराहरू मिलाउनुपर्थ्यो। अहिले हामीसँग पर्याप्त विद्युत् छ, कुलमान घिसिङले भन्नुभयो ।

धेरै नै खपत भएमा एकैछिनलाई बिहीवार साँझ १,५०० मेगावाटसम्म पुग्ला कि भन्ने छ। हाल झन्डै २,००० मेगावाट विद्युत् आपूर्ति नेपालभित्रबाटै भएकाले प्राविधिक समस्या पर्‍यो भने बाहेक ऊर्जा अभावकै कारण आपूर्तिमा कुनै समस्या नहुने घिसिङले बताउनुभयो ।

बत्ती बाल्न हामीलाई विद्युत्‌को कुनै समस्या छैन। सबै जना ढुक्कले झिलिमिली बत्ती बालेर रमाउन सक्नुहुन्छ।

उच्च भार कतिबेला ?

गत वर्ष लक्ष्मीपूजाको दिनको झन्डै १,१०० मेगावाट विद्युत् खपत भएकाले यसपालि १०० मेगावाट बढी विद्युत् खपत हुनसक्ने अनुमान प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईको छ।

यसअघि भारप्रेषण केन्द्रमा काम गरिसक्नुभएका भट्टराईका अनुसार उद्योग र ठूला व्यावसायिक कार्यालय बन्द हुने भएकाले लक्ष्मीपूजामा सबैभन्दा उच्च भार पहिले समेत हुँदैनथ्यो।

तर विद्युत् नै अभाव भएको भन्दै विगत केही वर्षमा लक्ष्मीपूजामा आपूर्ति गर्न प्राधिकरणले थर्मल प्लान्ट समेत तयारी अवस्थामा राख्नेगर्थ्यो। अब बत्ती मात्र बालेका भरमा विद्युत खपत निकै उच्च हुँदैन। त्यसमाथि पछिल्लो समय कम ऊर्जा खपत हुने झिलिमिली बत्तीहरू बजारमा आइरहेका छन्, प्रवक्ता भट्टराई भन्नुहुन्छ ।

नेपालमा गर्मीयाममा धेरैजसो सबैभन्दा उच्च विद्युत् खपत हुनेगरेको छ। यो वर्ष समेत असोजमा १,६८५ मेगावाट उच्च विद्युत् खपत भएको विवरण छ। यो क्रम वर्षेनि बढ्दो छ।

औद्योगिक खपत, गर्मी छल्ने उपकरणको अत्यधिक प्रयोग र सिँचाइ एकैसमय हुने भएकाले गर्मीयाममा नेपालमा सबैभन्दा उच्च विद्युत् खपत हुने गरेको बताइन्छ।

विक्री जारी
इन्डियन एनर्जी एक्सेन्ज लिमिटेडमार्फत् भारतीय ऊर्जा बजार विद्युत् विक्री गर्ने काम बिहीवार पनि जारी रहने प्राधिकरण प्रमुख घिसिङले बताउनुभयो । नेपालले मङ्गलवार रातिबाट ३९ मेगावाट विद्युत् भारतलाई बेच्न सुरु गरेको छ। उत्पादित विद्युत् मागभन्दा बढी हुँदा सधैँ भारतलाई बेचिने अधिकारीहरूले बताएका छन्।

प्रसारण लाइन
हाललाई भारतीय लगानीकर्ता वा भारत सरकारको लगानी भएका परियोजनाबाट उत्पादन हुने विद्युत् मात्र भारतीय बजारले लिने भएकाले उच्च मात्रा विद्युत देशभित्रै खेर गइरहेको बताइन्छ।

यद्यपि देशका कतिपय औद्योगिक कोरिडोरमा प्रसारण सञ्जाल पूर्वाधारका अभावमा मागको तुलनामा १,००० मेगावाटसम्म विद्युत् अभाव भइरहेको प्राधिकरणकै अधिकारीहरूले बताउने गरेका छन्।

प्राधिकरण प्रवक्ता भट्टराई भन्नुहुन्छ, बहावयुक्त नदीबाट उत्पादन हुने विद्युत् भएकाले केही अंश खेर नै गएको सत्य हो। तर हाम्रा विद्युत्‌गृह सञ्चालन हुनलाई समेत १५ प्रतिशतसम्म विद्युत् खर्च हुने अर्को पाटो समेत छ।

सम्बन्धित खबरहरु