ललितपुर । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर ब्लाष्ट हुँदा ४ जनाको ज्यान गएको छ । मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर ब्लाष्ट हुँदा २ जना घाइते भएका छन्।

ग्यास सिलिन्डर ब्लाष्टमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । ग्याँस सिलिन्डर ब्लाष्ट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छोरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका २ जनाको नाम खुलिनसकेको बताइएको छ । खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्हः पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’

उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर ब्लाष्ट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सिलिण्डर ब्लाष्ट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घाइते छन् ।

‘केही चाहिँ हाम फाल्न नसकेको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् । घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आगलागी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्डरसम्म पुगेको अनुमान गरिएको छ ।

भान्छासँगै जोडिएको अर्को घरमा पनि ब्लाष्टबाट क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु