काठमाडौं । राजधानीमा एक इन्धन ट्यांकर ब्लाष्ट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । घटना पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा भएको हो ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनडीएमए) का सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार ब्लाष्टमा कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए । घटनास्थलमा उद्धारकार्य सकिएको छ । दुर्घटनाको कारणको खोजी भइरहेको जनाइएको छ ।

इन्धन भरिएको ट्याङ्करमा भएको ब्लाष्टको आवाज शहरभन्दा निकै परसम्म सुनिएको थियो भने आगोको ज्वाला नजिकका बस्तीमा फैलिएको थियो । आगोका कारण लामो समयसम्म घटनास्थलमा पुग्न नसकिएको स्थानीय अधिकारीहरूले जानकारी दिए ।

फ्रिटाउनका मेयर यवोन अकी-सयरले दुर्घटनाबारे फेसबुकमा जानकारी दिएका छन् । उनका अनुसार इन्धन बोकेर गुडिरहेको ट्याङ्करलाई अर्को ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

ब्लाष्टको आवाज सुनेर घटनास्थलमा पुगेका स्थानीयले शुरुवाती उद्धार गरेका थिए । सामाजिक सञ्जालमा दुर्घटनास्थल र घाइतेहरुको तस्वीर र भिडियो भाइरल भइरहेको छ ।

मेयर अकी–सेयरले फेसबुकमा लेखेका छन्, ‘मेरो समवेदना ब्लाष्टमा पर्ने पीडित परिवार र आफन्तजनसँगै छ । मृत्यु हुनेहरुको आत्मालाई शान्ति मिलोस् ।’

फ्रिटाउन शहरमा १० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । गत मर्चमा पनि त्यहाँको एक सुकुम्बासी क्षेत्रमा आगलागी हुँदा ८० जनाको मृत्यु भएको थियो ।

यस्तै २०१७ मा भारी वर्षाका कारण एक हजार जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।

सम्बन्धित खबरहरु