काठमाडौ । बाँकेमा भाइटीकाको दिन शनिबार दिउँसो जुवाको खालमा प्रहरीले छापा मार्दा साढे चार लाख रूपैयाँ नगदसहित जुवाडे पक्राउ परेका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१३, बाबुगाँउमा भएको प्रहरी कारबाही क्रममा ४ लाख ६६ हजार ७७ रूपैयाँसहित ४८ जना जुवाडे पक्राउ परेका हुन्।

शनिबार दिउँसो दुई बजेतिर केही मानिसले जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले १० गड्डी ताससमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूविरूद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही हुनेछ।

यसैबीच जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले अभियान नै चलाएको छ। जुवातास खेल्ने ठाउँ पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्ने क्रम जारी राखेको राष्ट्रिय समाचार समिति (रासस) को समाचारमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व बेला हालसम्म ९५ जुवाडे पक्राउ गरेको छ। पक्राउ परेकालाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। जुवातासका ११ मुद्दामा ८ लाख १४ हजार ५ सय १० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

समाजमा विकृतिका रूपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तर सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६, ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट ६२ हजार ७० रूपैयाँ बरामद गरिएको छ।

 

सम्बन्धित खबरहरु