काठमाडौ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा समूह एकबाट इंग्ल्याण्ड विजेता बनेको छ ।

अन्तिम समयमा आएर भाग्य चम्किएसँगै अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अन्तिम ४ का लागि समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया छानिए ।

सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८–८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् ।

शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

शनिबार राति भएको पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हराएर ८ अंक जोडेको थियो भने दोस्रो खेलमा साउथ अफ्रिकाले शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई हराएर ८ अंक नै जोडेको थियो ।

इंग्ल्याण्डले भने अन्तिम खेलअघि नै ८ अंक जोडेको थियो । अष्ट्रेलियाले विश्वविजेता वेष्ट इन्डिजलाई समेत फराकिलो अन्तरले हराउन सक्नु नेट रन रेटका लागि सहयोगी बन्यो ।

यो समूहमा तीन टिमले समान ८–८ अंक जोडे पनि रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहँदै इंगल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । तेस्रो स्थानमा रहेको साउथ अफ्रिका भने अभागी बन्दै समूह चरणबाटै बाहिरिनु पर्‍यो ।

यो समूहका बंगलादेश, श्रीलंका र वेष्ट इन्डिज भने यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए । चौथो स्थानमा रहेको श्रीलंकाले चार, पाँचौं स्थानमा रहेको वेष्ट इन्डिजले दुई जोडेका थिए भने बंगलादेश एक खेल नजितेर बाहिरिएको हो ।

समूह दुईको भने सेमिफाइनल पुग्ने टिमको अझै टुंगो लागिसकेको छैन् । यो समूहका सबै टिमले एकरएक खेल खेल्न बाँकी छ ।

सम्बन्धित खबरहरु