काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिनुभएको छ ।

ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको दाबी गर्दै त्यो खर्च कुन आम्दानीले भयो भनेर प्रश्न गर्नुभएको थियो ।

साथै क्रान्ति भन्दै जंगलमा बसेका बेला कहाँबाट भिसा लगाएर बेलायत पठाएको भन्दै प्रश्न गर्नुभएको थियो ।

मानुषीले त्यसको जवाफमा ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन सुझाउनुभएको छ । ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको भन्दै प्रश्न उहाँले प्रश्न गर्नुभयो राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?

मानुषीले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ । पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला ।

ओलीले लगाएको आरोपबारे उहाँले लेख्नुभएको छ स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं ।

नेपालमा भूमिगत नेताकी छोरी बेलायतमा कताबाट कमाएर पढाएको ? भनेर ओलीले प्रश्न गर्नुभएको थियो । ओलीले आफूहरूले पासपोर्ट बनाउन नसक्ने र भिसा लगाउन नसक्ने अवस्थामा माओवादीका भूमिगत नेता भट्टराईका छोराछोरी बेलायत र युरोप गएको आरोप लगाउनुभएको थियो ।

यसको जवाफमा मानुषीले लेख्नुभयो, हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला ।

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि ओलीलाई आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।

सम्बन्धित खबरहरु