काठमाडौ । अमेरिका, बेलायत तथा फ्रान्सका संग्रहालयहरूमा पुरातात्विक महत्वका नेपालका अति अमुल्य सम्पदाहरू फेला पर्ने क्रम बढेको छ ।

चोरिएका वा हराएका सम्पदाको पहिचान तथा उत्खननमा लागिपरेको ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानकाअनुसार, पाटनको ताःबहास्थित बौद्ध गुम्बाबाट हराइरहेको सत्रौं शताब्दीको हार अमेरिकाको न्यूजर्सीमा फेला परेको छ ।

न्यूजर्सीको निजी कला–सम्पदा बिक्रीघर ‘विलो अक्सन हाउस’मा यो पुरातात्विक हारलाई बिक्रीमा राखिएको छ ।

यस्तै, लोमाथाङ, मुस्ताङबाट हराइरहेको १५ औं शताब्दीको कृति मानिने कुंगा वाङचुकको धातु पोट्रेट भने बेलायतको ब्रुनइ ग्यालरीमा भेटिएको छ ।

पूर्वीय सभ्यता, संस्कृति र नेपाली इतिहाससमेत पढाइ हुने लण्डनको स्कूल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडिजले गरेको प्रदर्शनीमा यो सम्पदा राखिएको छ ।

भक्तपुरको नासमना टोलबाट हराइरहेको उमामहेश्वरको मूर्ति भने फ्रान्सको सरकारी संग्रहालय ‘गिमे’मा फेला परेको छ ।

यो मूर्तिलाई १२ औं शताब्दीको सिर्जना मानिन्छ । गिमे म्युजियममै, पाटनको च्यासल हिटीबाट हराइरहेको १२ औं शताब्दीको प्रस्तर सिर्जना श्रीधर बिष्णुको मूर्ति समेत फेला परेको छ ।

यसरी सम्पदाको पहिचान भएपछि सम्बद्ध मुलुकका नेपाली नियोगहरूले आफ्नो सम्पत्ति घरफिर्ती गर्नमा पहल गर्नुपर्नेमा बेलायत र फ्रान्सस्थित नियोगले भने खासै तदारुकता देखाउन सकेका छैनन् ।

अमेरिकाबाट भने वासिंङटन र न्यूयोर्कस्थित नेपाली कुटनीतिक नियोगको सहजीकरणमा फेला परेका मूर्ति घरफिर्ती भैरहेको छ ।

सम्बन्धित खबरहरु