काठमाडौ । छिमेकी मुलुक भारतले नेपालमाथी अर्को ज्यादती गरेको छ । उसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ ।

बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन ।

तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर, भिडियो खिचेको हो ।

नेपालको अनुमतिबेगर एसएसबीले आइतबार नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको बाँध (ठोक्कर) को एक नम्बर स्थलबाट नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अवैध रुपमा कब्जा गरेर बसेको छ । यता फेरी यस्तो गरिरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै एसएसबीको फौज नेपाल पसेको जानकारी आफूलाई आएको पुष्टी गर्नुभयो ।

सिमलको रूखलाई नेपालले अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ । ‘ड्रोन उडाएको भन्ने विषयमा अनुसन्धान अघि बढिसकेको छ, हामी सत्यतथ्य खोजबिन गर्ने क्रममा छौं,’ प्रजिअ मिश्रले भन्नुभयो, ‘यसबारे भारतीय समकक्षी महाराजगन्जका ‘डिस्ट्रिक मजिस्ट्रेट’ (जिल्ला अधिकारी) सँग पनि बुझ्ने क्रममा छौं ।’

यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सँग पनि बुझेर गृह मन्त्रालयलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट पश्चिम) लाई निर्देशन दिइएको बताउनुभयो ।

‘सुस्ता क्षेत्रमा आइतबार के–के भएको हो, यसबारे अनुसन्धान गरी मन्त्रालयमा जानकारी गराउन प्रशासनलाई निर्देशन दिइसकेका छौं,’ पोखरेलले भन्नुभयो, ‘प्रजिअले विस्तृत अनुसन्धान गरी छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याउने बताउनुभयो । ’

२०७८ साउन १५ मा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नदीमाथि ड्रोन उडाउन पनि भारतले अनुमति दिएको थिएन ।

साउन २३ मा जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालघाटबाट नदीको तल्लो भागको दुवै किनार हुँदै ड्रोनबाट धामीको खोजबिनका लागि पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयलाई पत्र लेखेको थियो तर उसले त्यसको जवाफ नै दिएन ।

त्यतिमात्र होइन दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकमाथिबाट भारतीय हेलिकोप्टर तारन्तार ओहोरदोहोर गर्न थालेपछि त्यसप्रति आपत्ति जनाउँदै भदौ २० मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको थियो ।

भारतले त्यसको अहिलेसम्म जवाफ फर्काएको छैन । त्यस घटनाको दुई महिनापछि नवलपरासीको सुस्तामा पसेर पुनः एसएसबीले ड्रोनबाट सीमा निरीक्षण गरेको हो । एक सुरक्षा अधिकारीले सुस्ता क्षेत्रमा भएको पछिल्लो घटना भारतीय सुरक्षाकर्मीको बलमिच्याइँको निरन्तरता भएको बताउनुभयो ।

सुस्ता र कालापानी क्षेत्रलाई नेपाल र भारत दुवै देशले ‘विवादित भूमि’ भनेर स्वीकार गरेका छन् । यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश सहमत भइसकेका छन् तर त्यसलाई बेवास्ता गरेर एसएसबीले बिनाअनुमति ड्रोनबाट सीमा गस्ती र निगरानी बढाएको हो ।

त्यसक्रममा एसएसबीका सुरक्षाकर्मी नेपालतर्फको जमिनमा समेत प्रवेश गरी केही समय गस्ती गरेर फर्किएका छन् ।

सुस्तामा निर्माणाधीन झोलुंगे पुलबाट नजिकै बसेर एसएसबीले ड्रोन उडाएको स्थानीय रामधनी कोइरीले पुष्टी गर्नुभयो । त्यहाँका केही तस्वीरहरु नै आइसकेका छन् । यसलाई राज्यले अति संवेदनशील रुपमा लिओस् ।

सम्बन्धित खबरहरु