काठमाडौ । नेकपा एमालेबाट सत्ता फुत्काएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित हुनुहुन्थ्यो । विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराउनुभएको छ ।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। एमालेका ४३ सांसद छन् तर आज दुई सांसद उपस्थित थिएनन्।

यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै राप्रपाका दुई सांसद अनुपस्थित रहेका थिए।

नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनबाट गत कात्तिक १२ मा मुख्यमन्त्री बन्नुभएको थियो ।

नेकपा एमालेकी उपाध्यक्षसमेत रहनुभएकी यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि राजीनामा दिनुभएको थियो । प्रदेश सभा बैठक भने अर्को सूचना नआन्जेलका लागि स्थगित भएको छ।

मुख्यमन्त्री पाण्डेले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारी थाल्नुभएको छ । उहाँले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषदलाई विस्तार गर्ने बताउनुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु