काठमाडौ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ ।

सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो ।

सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । विजेता र उपविजेता मात्र सेमिफाइनलमा प्रवेश गर्ने भएकाले भारतको यात्रा यही टुंगियो ।

पहिलो पटक टी–२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार गर्दै सुपर १२ मा पुगेको थियो । जहाँ पाँचमध्ये एक खेल जितेको नामिबयाले चार खेलमा हार बेहोर्‍यो ।

विराट कोहलीले टी–२० कप्तानको रुपमा अन्तिम खेल जितबाट टुङ्गाए । विराट कोहलीले अब टी–२० टिमको कप्तानी गर्ने छैनन् ।

यस्तै प्रशिक्षक रवि शास्त्रीले पनि अन्तिम खेलमा जितसहित बिदाइ पाए । यस विश्वकपसँगै शास्त्रीको भारतीय टिममा साढे चार वर्षे कार्यकाल सकिएको छ ।

स्पीनरद्वय रवीन्द्र जडेजा र रविचन्द्र आश्विनको बलिङ अनि ब्याटिङमा रोहित शर्मा र केएल राहुलको जोडी चम्किएपछि भारतले नामिबियामाथि सहजै जित हात पारेको हो ।

सुपर १२ को समूह २ अन्तर्गतको नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले ३७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५६ रन बनाए ।

यस्तै केएल राहुलले ३६ बल खेल्दै चार चौका र दुई छक्का मद्दतमा अविजित ५४ रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गरेका सूर्यकुमार यादवले अविजित २५ रन बनाए । नामिबियाका जान फ्राइलिङ्कले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

नामिबियाका लागि डेभिड विजाले सर्वाधिक २६ रन बनाए । यस्तै स्टेफन वार्डले २१ रन जोडे । जान फ्राइलिङ्स १५ र रुबेन ट्रम्पलमेन १३ रनमा अविजित रहे ।

भारतका रवीन्द्र जडेजाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले चार ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिए ।

समूह दुईबाट विजेताको रुपमा पाकिस्तान र उपविजेताको रुपमा न्यू जिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

सम्बन्धित खबरहरु