म्याग्दी । सामूहिक करणीको आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ।

बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलामाथी करणीको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदाम पक्राउ परेका हुन्।

उनीहरूमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

एक्लै सुतिरहेकी महिलालाई ती युवकहरुले चेतवानी दिँदै पालैपालो करणी भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

सात वर्षीया बालिकाको ज्यान लिइयो

यता सुर्खेतको लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको ज्यान लिइएको छ । उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ।

लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी नै नभएको अवस्थामा सोमबार फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा मृत फेला पारेकी थिइन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।

सम्बन्धित खबरहरु