कपिलवस्तु । आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको ज्यान लिएर जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन ।

गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले ज्यान लिइ नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको हो ।

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी ज्यान लिएर भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चोरीको मोटरसाइकल सहित पक्राउ
पर्सा । वीरगञ्ज महानगरपालिका-५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका-५ बस्ने २५ वर्षीय सोनालाल मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोक छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी सोही महानगरपालिका-१९ विन्दवासिनी चोकबाट मुखियालाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु