काठमाडौं । सरकारले तीन वटा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

मंगलबार मन्त्रिपरिषद्को बैठकबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिनुहुँदै मन्त्री कार्कीले सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको सम्बन्धमा राहत उपलब्ध गराउन कार्यदलले पेशा गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ ।

सरकारले कुस्मा चार सय केवी र जुम्ला सब–स्टेशनका लागि जग्गा प्राप्ति गराउने, नेपाल कृषि वन तथा सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा नीरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कका विशिष्ट श्रेणीका पदमा नियुक्ति गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो । यससँगै उहाँले मन्त्रिपरिषद् बैठक सम्पन्न भएको भोलिपल्ट दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने समय निर्धारित भएको पनि जानकारी दिनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु