काठमाडौं । सडक दुर्घटनापछि भएको आगलागीमा ठुलो क्षति भएको छ । भारतको राजस्थानस्थित जोधपुर राष्ट्रिय राजमार्गमा निजी बस र ट्रक जुध्दा १२ जनाको मृत्यु भएको हो ।

बस र ट्रक ठक्कर खाँदा बसमा आगलागी भएको थियो । मानिस बाहिर निस्कन नपाउँदा १२ जनाको जलेर मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

राजस्थानको बारमेर जिल्लाको जोधपुर राष्ट्रिय राजमार्गमा बुधबार बस र ट्रेलर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । भण्डियावास गाउँपालिकास्थित संस्कार स्कुल नजिक बस र ट्रेलर एकआपसमा ठोक्किँदा आगजनी भएको छ ।

जसमा १२ जना जिउँदै जलेका थिए । दुर्घटना बिहान १०ः४५ बजे भएको थियो । सुरुमा ५ जनाको मृत्यु भएको भनिएपनि जिल्लाका एसपीले एक बालिकासहित थप ७ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

४० जना घाइतेलाई नजिकैको नाहाटा सरकारी अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये १३ जनालाई जोधपुर पठाइएको हो । सूचना पाएलगत्तै पचपद्रा, बालोत्रा ​​र रिफाइनरीको दमकल घटनास्थलमा पुगेको थियो ।

तीनवटा दमकलले आधा घण्टामा दुवै गाडीमा लागेको आगो नियन्त्रणमा लिएका छन् । बालोत्राबाट जोधपुर जाँदै गरेको बसमा ३५–४० यात्रु भएको जनाइएको छ ।

गलत साइडबाट आएको ट्रेलर राजमार्गमा रहेको बससँग ठोक्किएको हो । राज्यका मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन सबै अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।

सम्बन्धित खबरहरु