काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका युवा अबको एक महिनामा इजरायल पुुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो ।

विभागका निर्देशक एवं इजायल रोजगारी संयोजक डम्बर सुनुुवारले एक÷दुई दिनभित्रै प्रहरी प्रतिवेदन लिन र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नामसहित सूचना आह्वान गर्ने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुुभयो, “दशैँ र तिहारका कारण इजरायलको प्रक्रिया केही सुस्त भए पनि अब भने धेरै ढिला हुँदैन एक महिनामा सबै प्रक्रिया पूरा गरेर पठाउने काम हुन्छ । ”

निर्देशक सुनुवारका अनुसार इजरायल जाने श्रमिकका लागि विभागले क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्नेछ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए ।

इजरायलले सार्वजनिक गरेको चिट्ठा प्रणालीबाट छनोट भएका उम्मेदवारहरूको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ ।

मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन् ।

इजरायलले पठाएको नामावलीका आधारमा क्रमशः एक हजार १७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्नेगरी तयारी गरिएको छ । विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावासमा पठाउने गरी काम भइरहेको जनाएको छ ।

इजरायल जाने श्रमिकले मासिक झन्डै दुुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ । विभागका अनुसार एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ ।

जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा एक लाख ६५ हजार ७०० रुपियाँ शुल्क लाग्ने विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु