काठमाडौं । दक्षिण भारतको केरला राज्यमा नोरोभाइरस फेला परेको पुष्टि भएको छ।

केरलाकी स्वास्थ्यमन्त्री वीना जोर्जले शुक्रवार सर्वसाधारण नागरिकलाई नोरोभाइरसबारे सतर्क रहन आग्रह गर्दै त्यसबाट जोगिने उपायहरू सार्वजनिक गरेकी छन्।

यो भाइरसलाई अङ्ग्रेजीमा ‘विन्टर भमिटिङ बग’ पनि भनिन्छ। यसको सङ्क्रमण हुँदा मानिसलाई उल्टी र पखाला लाग्छ।

नोरोभाइरस जनावरबाट मानव शरीरमा सर्छ। यो अतिसङ्क्रामक हुन्छ। विज्ञहरूले यसलाई “भाइरसको संसारको फरारी” को सङ्ज्ञा दिने गरेका छन्।

दुई हप्ताअघि वायनाड जिल्लाको विथिरनजिकै रहेको पुकोडेस्थित एक पशुचिकित्सा क्याम्पसका १३ जना विद्यार्थी नोरोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो।

स्वास्थ्य अधिकारीहरूले भाइरस नियन्त्रणमा आइसकेको र उक्त भाइरस थप फैलिएको कुनै सूचना नआएको बताएका छन्।

अहिले सर्वसाधारणलाई यो भाइरसबारे जानकारी दिन थालिएको छ। पशुचिकित्सा विज्ञान क्याम्पसका विद्यार्थीहरूको विवरण पनि राखिएको छ।

उक्त क्याम्पसका अधिकारीहरूका अनुसार सङ्क्रमण सबैभन्दा पहिले क्याम्पस परिसर भन्दा बाहिर बस्ने विद्यार्थीहरूमा देखा परेको थियो।

त्यसपछि स्वास्थ्य अधिकारीहरूले त्यसको नमुना लिएर परीक्षणका लागि अलाप्पुझास्थित भाइरस विज्ञान संस्थान (एनआईवी) मा पठाएका थिए।

राज्यकी स्वास्थ्यमन्त्री वीना जोर्जले स्वास्थ्य अधिकारीहरूको एउटा बैठकको अध्यक्षता गरिन् र वायनाडको स्थितिबारे जानकारी लिइन्।

स्वास्थ्य विभागले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मन्त्री र सरकारी अधिकारीहरूले भाइरस फैलिन नदिनका लागि आवश्यक कार्य तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।

अहिले चिन्ता गर्नुपर्ने परिस्थिति नरहेको तर सबैले सतर्कता भने अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यो भाइरस दूषित खाद्य पदार्थ र पानी अनि सङ्क्रमित व्यक्तिबाट फैलिन्छ।

पानी स्वच्छ राख्न ‘सुपर क्लोरिनाइजेशन’ गरिएको अधिकारीहरूले जनाएका छन्। बीबीसी

सम्बन्धित खबरहरु