काठमाडौं । रौतहटमा गएराति कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ । सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चाेक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको हो।

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको र कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो।

बम नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मगाई पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको राैतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताउनुभयाे। मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

दुर्घटनामा क्षतिग्रस्त भएको कारलाई राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन्। मदिरा सेवन गरेर गाडी चलाएकोले तीव्र गतिमा आउँदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु