काठमाडौं । अचानक बिरामी भएर अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज हुन लाग्नु भएको छ । एक्कासि बान्ता र रक्तचाप उच्च भएपछि उहाँलाई शनिबार ललितपुरको मेडासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको जानकारी शनिबार दिनुभयो ।

अस्पताल पु¥याएपछि उहाँको अवस्था सामान्य रहेको छ । तर चिकित्सकका सल्लाह अनुसार आराम गराई डिस्चार्ज गरिने जानकारी छोरी दाहालले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले चिकित्सकहरूको निगरानीमा राख्नु पर्ने भएकाले अस्पतालमा भर्ना गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार दाहाललाई गम्भीर केही भएको होइन, सामान्य अवस्था नै हो तर बान्ता नै भएपछि अस्पताल लगिएको हो । स्वास्थ्यमा त्यस्तो गम्भीर समस्या देखिएको छैन, सामान्य भएका कारण डिस्चार्ज हुन लाग्नु भएको हो ।

सम्बन्धित खबरहरु