काठमाडौं । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलपन्थी विद्रोही मारिएका जनाइएको छ ।

महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलपन्थीको भिडन्त भएको थियो ।

सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलपन्थीको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । यस भिडन्तका क्रममा मारिएका २६ नक्सलपन्थीको शव प्रहरीले फेला पारेको जनाएको छ ।

कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ ।

उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।

उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ ।

यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।

सम्बन्धित खबरहरु