काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दको असर देखिएको छ ।

File Photo

मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती खेप्नु परेको हो ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका हुन् ।

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र पर्नु परेको छ ।

कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी नपाउदा समस्यामा छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् ।

काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।

यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु विभिन्न स्थानबाट पक्राउ परिरहेका छन् ।

सम्बन्धित खबरहरु