काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ ।

कपिलबस्तुको विभिन्न ठाँउमा बन्द गराउन हिँडेका विप्लवका जिल्ला सचिवसहित प्रहरीले १६ जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार जितपुरबाट नाै, चन्द्रौटाबाट छ जना र गोरुसिंगेबाट एक जनालाई पक्राउ गरिएको छ ।

जितपुरबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई ईलाका प्रहरी कार्यालय पिपरा, चन्द्रौटाबाट पक्राउ परेकालाई वडा प्रहरी कार्यालय चन्द्रौटा र गोरुसिंगेबाट पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको उहाँले बताउनुभयो । बन्दको नाममा सवारी साधानलाई अवरुद्ध गर्न खोज्नेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले जिल्ला सचिव कमल केसी, बाणगंगा नगरपालिकाका नगर सचिव सेरमान थारुलगायतका नाै जना नेता तथा कार्यकर्तालाई जितपुरबाट, शिवराज नगरपालिकाका नगर सचिव विनोद लुईंटेलसहित छ जनालाई चन्द्रौटाबाट र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान केसीलाई गोरुसिंगेबाट पक्राउ गरिएको विप्लव जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिनुभयाे ।

पक्राउ परेको नेता तथा कार्यकर्तालाई अविलम्ब रिहाई गर्न जिल्ला ईन्चार्ज केसीले माग गर्नुभएकाे छ।

बन्द आह्वानका कारण अन्य दिनमा झैं सवारी साधन भने चलेका छैनन् । विहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।

सम्बन्धित खबरहरु