काठमाडौं । सहकर्मी न्यायाधीशलगायत वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशन आफ्नो राजीनामा माग गर्दै विरोधमा ओर्लिएका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूबाहेकका सबै न्यायाधीशलाई मुद्दाको पेसी तोक्नु भएको छ ।

तीन हप्तादेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशमध्ये चार जना मङ्गलवारदेखि मुद्दाको नियमित सुनुवाइमा फर्किनु भएको हो । त्यसरी फर्किने न्यायाधीशमा तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा रहनु भएको छ ।

प्रधानन्यायाधीशको विपक्षमा रहेका भनिएका न्यायाधीशहरूले यसअघि बन्दीप्रत्यक्षीकरणको रिट मात्रै सुनुवाइ गर्दै आउनु भएको थियो । प्रधानन्यायाधीश बारले सर्वोच्च अदालतको प्रवेशद्वारमै अवरोध पुर्‍याउने खबरमाझ अबेरसम्म अदालत पुग्नु भएको थिएन् । उहाँ करिब १ बजे मात्रै अदालत प्रवेश गर्नुभयो, जतिबेला बारको धर्ना सकिइसकेको थियो ।

सर्वोच्च अदालतस्थित स्रोतका अनुसार पदीय जिम्मेवारीअनुसार न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेको भन्दै आलोचना हुन थालेको बेला न्यायाधीशहरूले मुद्दा सुनुवाइ गर्न इजलासमा जानुअघि आन्तरिक छलफल गर्नुभएको थियो । अब धेरै लामो समयसम्म मुद्दा नहेरी बस्न सकिँदैन, जनताका मुद्दा हेर्नुपर्छ भनेर उहाँहरूले सो कदम चाल्नु भएको हो ।

यसअघि प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्ने तर बाँकी मुद्दा हेर्ने जस्ता विषयमा पनि न्यायाधीशहरूले धारणा राख्दै आउनु भएको थियो । बारको विरोधकै माझ सोमवार सर्वोच्चका झन्डै पाँच न्यायाधीशले लामो समय मुद्दा नहेरी बस्न नसकिने भन्ने धारणा राख्नु भएको थियो ।

प्रधानन्यायाधीशले राजीनामा नदिने र उनीविरुद्धको छानबिन पनि सुरु नभएको अहिलेको अवस्थामा मुद्दा सुनुवाइ कसरी गर्न सकिन्छ भनेर न्यायाधीशहरू छलफलमा जुटेको बताइन्छ । यसअघि १९ जना न्यायाधीश नै विरोधमा देखिएर बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ भएको थिएन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु