काठमाडौं । सर्लाहीको बाँके जङ्गलमा सोमवार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सोमवार राति साढे ११ बजेतिर ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित भित्री सडक खण्डमा घारिबथानबाट बाँके चौकतर्फ आउँदै गरेको प्रदेश–२–०३–००४ प ९५३९ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घारिबथाननै घर भएका मोटरसाइकल चालक २२ वर्षीय सुरज मुर्मछान मगर र पछाडि सवार २० वर्षीय मुकेश आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै दुवै जनालाई उपचारका लागि लालबन्दीस्थित गढिमाई अस्पताल ल्याइएको थियो ।

मोटरसाइकल चालक सुरजलाई अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको र पछाडि सवार मुकेशलाई लालबन्दीबाट रेफर गरी नेशनल मेडिकल कलेज वीरगन्ज पु¥याएको केही बेरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका दुवै युवकले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ । उनीहरु घारिबथानबाट ईश्वरपुर नगरपालिका–४, सागरनाथमा लागेको मेला हेर्न आउँदै गर्दा दुर्घटनामा परेका स्थानीयवासीले बताएका छन् ।

घटनास्थलमा पुग्नुभएका बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुङ्गानाका अनुसार मोटरसाइकल ठोक्किएको रुखमा ठूलै गाडी गएर ठोक्किएकै जस्तो देखिन्छ । त्यस्तै, रुखमा गएर ठोक्किँदा मोटरसाइकल पनि क्षत विक्षत हुने गरी कुच्चिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

सम्बन्धित खबरहरु