काठमाडौं । मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गर्नुभयो । मन्त्रीबाट बर्खास्तीमा पर्नुभएका यादवले मुख्यमन्त्री लालबाबु राउतमाथि गम्भीर आरोप लगाउनु भएको छ ।

बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले मुख्यमन्त्रीलाई भ्रष्टाचारको आरोप लागेपछि राजिनामा दिएर मार्ग प्रशस्त गर्न भन्नु भएको थियो । नयाँ अनुहारलाई मुख्यमन्त्री बनाएर जनताको बीचमा जानुपर्ने कुरा गरेको उहाँले उल्लेख गर्नुभयो ।

जसको छविमा दाग लागेको छ त्यस्तो छविका व्यक्तिलाई लिएर कसरी निर्वाचनमा जाने भनेर कुरा राखेका कारण आफु विदा भएको उहाँको बुझाई रहेको छ । सोही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ ।

सम्बन्धित खबरहरु