काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि मङ्सिर १४ गते प्रदेशसभाको बैठक आव्हान गरिएको हो ।

प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख परियारले प्रदेशसभाको बैठक आव्हान गर्नु भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीमा नियुक्त भएको २८ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तीन दलीय गठबन्धनमा बनेको सरकारमा मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

३५ जना प्रदेशभसा सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ, र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

सम्बन्धित खबरहरु