काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनाका साथै नेपालको विकास प्राथमिकताका विभिन्न विषयसहित महामारीपछिको आर्थिक पुनरुत्थानमा व्यापार र लगानीको भूमिका महत्वपूर्ण हुनेमा उहाँहरूबीच छलफल भएको थियो ।

परराष्ट्रमन्त्री डा खड्काले कोभिड–१९ को महामारीका बेला खोपलगायत अमूल्य चिकित्सा सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो ।

दुवै पक्षले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सहयोग र सहकार्यका नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुनसक्ने मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी) परियोजनालगायत विषयमा पनि विचारविमर्श गरेको थियो ।

सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बधाई सन्देश सुनाउँदै पारस्परिक हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न अमेरिकी विदेशमन्त्री तत्पर रहेको जानकारी दिनुभएको थियो ।

नेपालसँगको अमेरिकी सहयोग निरन्तर रहने आश्वासन उहाँले परराष्ट्रमन्त्रीलाई दिनुभएको थियो । नेपालजस्ता जलवायु जोखिममा रहेका पर्वतीय देशमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरलाई स्वीकार गर्दै दुवै पक्षले प्रभावकारी जलवायु कार्य, अनुकूलन र न्यूनीकरण उपायका लागि वित्त व्यवस्थापनको आवश्यकताबारे विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले बदलिएको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल–अमेरिका सम्बन्धको गतिशीलताका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी र दुई देशका जनताबीचको सम्पर्कलगायत द्विपक्षीय संलग्नतालाई अगाडि बढाउने उपायबारे छलफल गरेका थिए ।

सम्बन्धित खबरहरु