काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी छन् ।

बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो ।

प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो । अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन् ।

ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएकी छन् ।

सम्बन्धित खबरहरु