काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । शनिबार बिहान खुमलटारमा प्रचण्ड र विप्लवले एक घण्टा छलफल गर्नुभएको हो ।

भेटमा राजनीतिक घटनाक्रम र सहकार्यको विषयमा छलफल भएको छ । उक्त छलफल सकारात्मक भएको विप्लवका सहयोगी असल क्षेत्रीले जानकारी दिनुभयो ।

‘अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भएको भेटमा सामान्य राजनीतिक गतिविधि र दुई पार्टीबीच हुनसक्ने सहकार्यको विषयमा छलफल भएको छ’, विप्लवका सहयोगी क्षेत्रीले भने, ‘साझा धारणा बनाउने अवस्था नभए पनि सकारात्मक छलफल भएको छ ।’

एकताका लागि तत्काल साझा धारणा बन्ने अवस्था नभए पनि छलफल सकारात्मक भएको क्षेत्रीको भनाइ छ । ‘प्रचण्डले सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ’, क्षेत्रीले भन्नुभयो, ‘सहकार्य भए पनि तत्काल एकता सम्भव छैन ।’

प्रचण्डसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन, जनमत संग्रह सवाल, राजनीतिक संकट र महंगीको विषयमा छलफल गर्नुभएको छ ।

भेटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्डसँगै कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो । विप्लवसँग सहकार्यका लागि नेता महराले पछिल्लो समय सक्रियता देखाउनुभएको छ ।

सम्बन्धित खबरहरु