काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय योगगुरु रामदेव बाबाले नेपाललाई लिएर एक नयाँ बयानले तरंग पैदा गरेको छ ।

उहाँले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको उल्लेख गरेपछि यो बयान नेपाल र भारतमा सर्वत्र साझा भइरहेको छ ।

साथै, उहाँले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने पनि वचन दिनुभयो । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको थियो ।

नेपाल पशुपतिनाथ, मुक्तिनाथ, सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती भएको भन्दै धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक निःशुल्क प्रचार गर्ने जानकारी दिनुभयो ।

उहाँले नेपालमा आएर धार्मिक तथा आध्यात्मिक पक्षको अध्ययन गर्न तथा हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उहाँले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती भएको पनि स्पष्ट पार्नुभयो ।

योगगुरु आचार्य बालकृष्णसहित बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो ।

सम्बन्धित खबरहरु