पोखरा । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल बारे विवादित बयान दिनुभएको छ ।

उहाँले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने जसका लागि भारत जेपनि गर्न तयार रहेको बताएसँगै यो विषय विवादमा परेको छ ।

नेपाल संविधानमा नै धर्मनिरपेक्ष राष्ट्र हो । तर छिमेकी मुलुकको सत्तारुढ दलका शीर्ष नेताले दिएको यो बयानले शनसनी मच्याएको छ ।

लोकसभाका पूर्वसांसद समेत रहनुभएका उहाँले पोखरामा पत्रकारहरुसँग भन्नुभयो, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’

नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उहाँको दावी छ । ‘संविधान एउटा कुरा हो ।

संविधानबाटै प्रशासनिक व्यवस्था चल्ने हो । तर, सामाजिक व्यवस्था, सामाजिक प्रणालीबाटै चल्ने हो । सामाजिक प्रणाली हेर्दा कसैले भन्न सक्दैन कि यो हिन्दु राष्ट्र होइन’ शास्त्रीले किटानी दिनुभयो ।

कात्तिक ३० गते नेपाल आउनुभएका डा. शास्त्री हिन्दु धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं, जनकपुर र पोखरा पुग्नुभयो ।

उहाँले विभिन्न जाति, सम्प्रदायका विषयमापनि बोल्नुभएको छ । हिन्दु धर्मले जातिय विभेद नगरेको बरु अहिले आएका आगन्तुक धर्मले विभेद गरेको दावी गर्दै आउँनुभएको छ ।

सम्बन्धित खबरहरु