काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्नुहुँदै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदुत अल मार्वानीसँग आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदुतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गर्नुभयो ।

नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ती साउदी अरेबियामा रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेविया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिनुभयो ।

साउदी अरेवियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदुत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताउनुभयो । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उहाँले बताउनुभयो ।

नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको हो ।

 

सम्बन्धित खबरहरु