नेपाल कम्युनिस्ट पार्टी (एमाले) दशौं महाधिवेशनका स्वास्थ्य कमिटीका संयोजक भानुभक्त ढकाल । उहाँ पाचौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्था हेर्दा यो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिने बताउनुहुन्छ । हरेक वडादेखि पालिकाहुँदै केन्द्रसम्म करीब ९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत् छनौट हुनु भनेको त्यसैको संकेत भएको उहाँको बुझाई छ ।

उहाँ पार्टीलाई यही भावनाकासाथ अघि बढाउन नेतृत्व तयार हुनुपर्नेमा जोड् दिनुहुन्छ । उद्घाटनस्थल उपस्थित हुने पाँच लाख र बन्दशत्रमा उपस्थित हुने सबै प्रतिनिधिलाई स्वास्थ्य सेवाका लागि आवश्यक तयारी गरिसकएको बताउनुहुन्छ ढकाल ।

उद्घाटनका दिन २ सय ५० बढी स्वास्थ्यकर्मीसहितको टोली खटाउने तयारी गरिएको उहाँले बताउनुभयो । ढकालसँग महाधिवेशन स्थलमा स्वास्थ्य सेवाको तयारीलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानी ।

आसन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं महाधिवेशन स्वास्थ्य कमिटीको संयोजक हुनुहुन्छ, तयारी के–के भैरहेको छ ?

यो मूल व्यवस्थापन कमिटी अन्तर्गत मेरो नेतृत्वमा स्वास्थ्य कमिटी छ । त्यसको उप–प्रमुखमा केन्द्रीय सदस्य रचना खड्का हुनुहुन्छ । उहाँसँगै केही चिकित्सकसहितको एउटा टिम बनाएका छौं । हामीले यो जिम्मेवारी प्राप्त गरेपछि चिकित्सकसहितको टिमले महाधिवेशनस्थलको बन्दशत्र र उद्घाटन हुने दुबै ठाउँको स्थलगत निरीक्षण गरेका छौं ।

उद्घाटनस्थलमा हामीले २ सय ५० बढी स्वास्थ्यकर्मीसहितको टोलीलाई चार ठाउँमा टेन्ट टाँगेर खटाउने तयारी गरेका छौं । पाँच लाख मानिसको उपस्थित गराउने तयारी भएकाले त्यहाँ आकस्मिक रुपमा कसैलाई स्वास्थ्य समस्या भयो भने तत्काल सेवा दिने उद्देश्य बनाएका छौं । तत्काल रेस्क्यु गरेर आरामका लागि राख्नु प¥यो भने त्यसका लागि पनि व्यवस्थापन गरेका छौं । अस्पताल नै लैजानुपर्ने अवस्था भयो भने महाधिवेशनका लागि आउनु भएका प्रतिनिधि र अन्यका लागि चिकित्सकहरुसँग सल्लाह गरेर तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने तयारी गरेका छौं ।

बन्दशत्र अवधिका लागि कस्तो व्यवस्थापन गर्नुभएको छ त ?

हामीले बन्दशत्र हल नजिकै लायन्स क्लवको चारओटा सटर भएको घर छ । त्यहाँ हामीले डाक्टर, नर्स र बेडसहितको व्यवस्थापन गरेका छौं । त्यहाँ तत्कालका लागि अस्पतालकै सेवा दिन सकिनेसम्मको व्यवस्था गरेका छौं । त्यहाँ २४सैं घण्टा सेवा दिइनेछ । औषधी र अन्य आवश्यकीय सामग्रीको पनि हामीले व्यवस्थापन गरेका छौं । हामीले यो बीचमा चितवनमा स्वास्थ्यकर्मीसहितको बैठक पनि गरिसकेका छौं । उहाँहरुले महाधिवेशन अवधिभर कसरी सेवा दिने भनेर योजना बनाएर अघि बढ्नुभएको छ । हामीले त्यसका लागि समन्वय गरिरहेका छौं । डाक्टर कृष्ण अधिकारी र डाक्टर सन्तोष पौडेलले थप व्यवस्थापन गरेर चितवनबाट फर्किनु भएको छ ।

महाधिवेशनमा आउने प्रतिनिधिहरुको स्वास्थ्यका लागि आवश्यक सेवा दिन तपाईंहरुको सबै तयारी सकिएको हो ?

हामीले बिगतका महाधिवेशन, अधिवेशन र भेलाहरुमा अप्नाउने स्वास्थ्य सेवालाई समेत ध्यानमा राखेर यो महाधिवेशनमा थप व्यवस्थापन गरेका छौं । हामीले महाधिवेशनमा आउने प्रतिनिधिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वस्थ्य सेवा दिने तयारी गरेका छौं । कतिपय उमेरजन्य रोगबाट पीडित, दीर्घरोगीलगायतका प्रतिनिधि पनि प्रतिनिधि भएकाले उहाँहरुलाई आवश्यक पर्ने औषधी र प्राथमिक उपचारको समेत व्यवस्था गरेका छौं । कुनै प्रतिनिधिले आफूले नियमित सेवन गर्ने औषधी बिर्सिएर आउनु भएको रहेछ भने उहाँहरुलाई त्यहाँ काउन्सिलिङ्सहित औषधीको व्यवस्था गरेका छौं । हामीले प्रत्येक प्रतिनिधिलाई डाक्टरको नम्बर उपलब्ध गराउँछौं । उहाँहरुले कोठा–कोठामा पुगेर प्रतिनिधिहरुलाई आवश्यक स्वास्थ्य सेवा दिनुहुनेछ ।

विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्सलगायतको पनि सेवा राख्नुभएको छ ?

निश्चय पनि हामीले तीनओटा एम्बुलेन्सको व्यवस्था गरेका छौं । ती एम्बुलेन्सले २४सै घण्टा सेवा प्रदान गर्नेछन् । हामीले रेडक्रससँग पनि समन्वय गरेका छौं । थप सेवा आवश्यक पर्दा उहाँहरु पनि तयारी अवस्थामा रहनु हुनेछ । हामीले अस्पताल ‘हव’कै रुपमा विकास भएको चितवनमा महाधिवेशन गर्दैछौं । त्यसकारण पनि त्यहाँ स्वास्थ्य सेवाका लागि कुनै पनि समस्या नहुनेमा हामी ढुक्छ छौं । हामीले जनशक्ति पनि त्यही हिसाबले व्यवस्थापन गरेका छौं । हामीले विशेषज्ञ डाक्टरहरुको समेत व्यवस्था गरेर गाउँ–गाउँबाट आउनुहुने प्रतिनिधिलाई एमालेको महाधिवेशनमा जाँदा डाक्टरहरुबाट सेवा प्राप्त भयो र यो रोगका बारेमा यो औषधी सेवन गर्दा ठिक भयो भन्नेसम्मको वातावरण सिर्जना गर्नुपर्छ भनेर लागि रहेका छौं । समग्रमा भन्दा महाधिवेशनमा आउनुभएका प्रतिनिधिको स्वास्थ्य अवस्थाका बारेमा हामी कुनै पनि समस्या नहुने खालको वातावरण निर्माण गर्छौं ।

अहिले कोभिड–१९ घटेको छ, हेटेको छैन । यस्तो अवस्थामा तपाईंहरुले महाधिवेशन गर्दै हुनुहुन्छ । यो बारेमा पनि तपाईंहरुले केही तयारी गर्नुभएको छ ?

कोरोनका नयाँ अनुभव आर्जन गर्ने बेलामा म स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिएँ । त्यतिबेला कोरोनाको औषधीको कुरा छाडौं कोरोना लागेका मानिसको उपचार र उनीहरुलाई अस्पतालसम्म लैजानका लागि प्रयोग गर्ने मास्क समेत थिएन । पीपीईलगायतको कुरा त निकै टाढाको विषय थियो । अहिले त्यो परिस्थितिबाट गुज्रिदै हामी यहाँसम्म आइपुगेका छौं । त्यो अवधिदेखि अहिलेसम्म आउँदा कोरोनाबाट कसरी बँच्ने भन्ने कुराको बारेमा धेरैले जानकारी प्राप्त गरिसकेका छन् । कोरोनाबाट आफू कसरी जोगिने र अरुलाई कसरी जोगाउने भन्ने बारेमा पनि सबै जानकार भैसकेका छन् । त्यति मात्रै होइन कोभिडका बेला गाउँबस्तीमा कसरी कोभिडबाट बँच्ने भनेर नेतृत्व गरेको पङ्क्ति नै यो महाधिवेशनमा सहभागी हुँदैछ । त्यसकारण पनि हामी यो कुरालाई सहज व्यवस्थान गर्न सक्छौं भन्ने लागेको छ । हामीले केही महिना अघि सम्पन्न विधान महाधिवेशनका बेला पनि यो कुरालाई ख्याल गरेर नै सम्पन्न गरेका थियौं । र, अहिले पनि हामी अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सकेसम्म पालना गर्दै महाधिवेशन भव्य रुपमा सम्पन्न गर्छौं ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षको इतिहासमा पहिलो पटक नयाँ ढंगले महाधिवेशन गर्दैहुनुहुन्छ । तपाईं जिम्मेवार नेता पनि भएकाले कसरी लिनुभएको छ ?

यो भन्दा अघिका महाधिवेशन नीति र नेतृत्वको महाधिवेशन एकै पटक हुँदा लक्ष्य नेतृत्व प्राप्त गर्ने हुने देखाउचाँहि नीतिलाई देखाउने हुन्थ्यो । अझ भन्ने हो भने अघिल्ला महाधिवेशन सिद्धान्तको जामा लगाएर आकांक्षा चाहीँ पद प्राप्ति गर्ने हुन्थ्यो । अहिले त्यो झन्झटमा हामी छैनौं । अर्थात् विधान महाधिवेशन सम्पन्न गरी हाम्रो पार्टीको नीति, विचार, सिद्धान्तको व्यवस्थित र सर्वसम्मत ढंगले टुंगो लगाएका छौं । यो सकारात्मक पक्ष हो । यो भनेको नीति र विधिमा एमालेभित्र विवाद छैन । हामी एकैचोटि नेतृत्व चयनको चरणमा मात्रै रहेकाले केही हल्का पनि भएको छ । त्यसैले हामी यो महाधिवेशनबाट हामीलाई किनारा लगाउन प्रयास गर्नेहरुलाई समेत गतिलो जवाफ दिने गरी महाधिवेशन सम्पन्न गर्नेछौं ।

हाम्रो पार्टीका अध्यक्षले दुई पटक सरकारको नेतृत्व गर्नुभयो । दुबै पटक उहाँले जनताको मन जित्ने गरी काम गर्नुभयो । उहाँको कामबाट आत्तिएर पार्टीभित्रका केही शक्ति र बाहिरी शक्तिले षड्यन्त्रमुलुक ढंगले हटाउने गलत काम गरे । पछिल्लो पटक त जनादेशको सरकारलाई अदालतसँग हारगुहार गरेर परमादेशबाट हटाउने प्रयास भयो । त्यसले अझ एमालेको लोकप्रियतालाई माथि उठाएको छ । त्यसले एमालेमाथि थप असाधारण जनादेश प्राप्त भएको छ । हामी यो महाधिवेशनबाट थप सशक्त भएर अघि बढ्ने छौं । यो महाधिवेशनपछि एमालेप्रतिको आकर्षण थप बढेर जानेछ ।

अहिले १० बुँदे पार्टी विभाजनपछि एमालेमै रहनुभएका माओवादीका कमरेडहरु सबैलाई मिलाएर लाजानु पर्ने चुनौति पनि छ । यो विषयमा तपाईंहरु कत्तिको गम्भीर हुनुुहुन्छ ?

पार्टी विभाजनपछि मूलधारमा रहनुभएका कमरेडहरुमा हामी एमालेमा सबैतिर घुलमिल भएका छैनौं । केही समस्या हुने हो कि भन्ने हुनसक्छ । त्यसैगरी पार्टीभित्र लामो सयमसम्म गुटबन्दीको अभ्यासले गर्दा उत्पन्न अन्तरविरोधका कारण केही कमरेडहरु अलग हुनुभयो । हिजो लामो सयमको गुटबन्दीको धारले गर्दा यो वा त्यो कित्तामा उभिएका व्यक्तिलाई म असुरक्षित हुने हुँ कि भन्ने लाग्न सक्ला । त्यो भन्दा एमाले धेरै माथि उठेर कसैलाई भेदभाव गर्दैन भन्ने सन्देश पनि यो महाधिवेशनबाट दिनुपर्ने छ । महाधिवेशनले त्यो सन्देश दिन्छ । नेकपा एमालेको नेतृत्वमा रहनुभएका केपी शर्मा ओलीले सबैको अविभावक हुनुहुन्छ र उहाँले कसैलाई पनि विभेद गर्नुहुन्न भन्ने अनुभूतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने चरणमा हामी छौं । यो चरणलाई सहज ढंगले सम्पन्न गर्छौं ।

अहिले जुन ढंगले सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेर नयाँ सन्देश दिनुभएको छ । महाधिवेशनले पनि त्यस्तै सन्देश देला भन्ने अपेक्षा गर्न सकिन्छ ?

पाचौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले यो महाधिवेशनमा अभूतपूर्व एकताको सन्देश दिएका छौं । हरेक वडादेखि पालिका हुँदै केन्द्रसम्म करीब ९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत छनौट हुनु भनेको त्यसैको संकेत हो । पार्टीलाई यही भावनाकासाथ अघि बढाउनुपर्छ भन्ने तल्लो तहका कार्यकताको यो दबाब पनि हो । नेतृत्वले यो कुरामा विवेक पु¥याउनुपर्छ भन्ने मेरो भनाई छ ।

अहिले केही कमरेडहरुले आफ्नो भावना प्रकट गर्नुभएको छ । जिवित पार्टीमा यो सामान्य हो । तर, राष्ट्रिय आवश्यकता, पार्टी भित्रको अप्ठ्यारो परिवेशसँगै अरु पार्टीबाट एमालेमा आउनुभएका कमरेडहरु पनि म अप्ठ्यारो ठाउँमा गएको रहेनछु भन्ने अनुभूति दिनुपर्छ । पार्टी भित्रको अन्तरविरोध व्यवस्थापन गर्न सबैको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ, र बढ्छौं ।

  • भानुभक्त ढकाल नेकपा एमाले दशौँ महाधिवेशन स्वास्थ्य कमिटीको संयोजक हुनुहुन्छ ।

सम्बन्धित खबरहरु