काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुद्ध दलहरुबीचको संयन्त्रसमझदारी र सम्बन्ध बलियो बनाउन बनेको बताउनुभएको छ ।

आज विहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–‘यो संयन्त्र सरकारलाई निन्त्रण गर्न वा दबाव दिनका लागि बनेको होइन । गठबन्धन पार्टीहरुबीचको समझदारी राम्रो र बलियो बनाउनका लागि बनेको हो ।’ उहाँले संयन्त्र सरकारभन्दा माथि नरहेको पनि स्पष्ट पार्नुभयो ।

सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी चुनावसम्म रहने प्रचण्डको भनाइ थियो । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका उहाँले बाहिर गठबन्धनको विरोध भइरहे पनि भित्रभित्रै सबै पार्टीले गठबन्धन चाहिरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले तीन तहकै निर्वाचन एक साथ हुनु पर्नेमा जोडमा दिनुभयो । ‘तीन तहकै निर्वाचन एक साथ भएमा खर्च कम हुनेछ’, उहाँले भन्नुभयो । पत्रकारको एक जिज्ञासाको जवाफमा प्रचण्डले अदालत स्वतन्त्र निकाय रहेको र यसको गरिमा रहनु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले सर्वोच्चमा देखिएको गतिरोध समाधान हुने र सकारात्मक निर्णय आउनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘यदि, त्यसो भएन भने गठबन्धनले पनि समस्या समाधानका लागि पहलकद्मी भूमिका निर्वाह गर्नेछ’, उहाँले भन्नुभयो ।

यसैगरी, एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने भन्दै हालको सरकारलाई अझ तदारुकताकासाथ काम गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबरहरु